काठमाडौं, चैत्र १ गते । नेपाल मगर संघ, केन्द्रीय समितिले सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)सँग आज शिष्टाचार भेट गरेकोछ । सात वर्ष चार महिनको कार्यावधी विवादरहित स्वर्णिम ढंगले कार्यकाल पुरा भएकोले सिंगो मगर जाति नै गौरवान्वित भएकोहुँदा संघबाट शिष्टाचार भेट गरिएको हो ।

पृथ्वीको जलाशय घट्दै जादा पानीको सतहबाट संसारमै सबैभन्दा पहिला सगरमाथाको चुचुरो नै देखा पर्यो । त्यहि माटोमा नै जिवजन्तुको उत्पति र विकास भयो । विश्वका १४ अग्ला शिखरहरुमध्ये आठवटा अग्ला शिखरहरु नेपाल मै पर्दछन् । त्यसैले अन्य जीवजन्तुहरुको विकासक्रमसँगै संसारमै मानव सभ्यताको विकास पनि नेपालबाटै शुरु भएको हो । नेपालको बुटवल क्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै मानवको बसोबास शुरु भइसकेको तथ्य स्पष्ट हुन्छ भन्दै उपराष्ट्रपति पुनले अगाडि भने मगर जाति नेपालको भूमिपुत्र आदिवासी समुदाय हो । मगर जातिलाई बाहिर अन्यदेशबाट आएको भन्नु इतिहास बंग्याउन खोज्नु हो । त्यसैले आदिवासी मगर समुदायले यो देशको आफू भूमिपुत्र भएकोमा गर्व गर्नुपर्ने बताए । गोपालबंशी र महिषपालबंशीहरु नेपालका आदिवासी हुन्, मष्टपुज्ने खश क्षेत्रीहरु पनि नेपालका आदिवासी भएको पुनले बताए ।

सम्माननीय उपराष्ट्रपति पुनमगरलाई पगरी (फेटा) गुथेर सम्मान गर्दै मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले प्राज्ञिक मगरहरुको सहयोगमा मगरात सभ्यतासहितको समृद्ध मगर समाज निर्माणका लागि मगर दर्शन तयार गर्न लागिएको बताए । शिष्ट्राचार भेटमा संघका सल्लाहकार दिल बहादुर थापामगर, सल्लाहकार कृष्ण थापामगर, संरक्षक गौबहादुर आलेमगर, सल्लाहकार डा.लालबहादुर पुनमगर लगायत भ्रातृसंस्था र आबद्धसंस्थाहरुबाट समेत उल्लेख्य सहभागिता रहेको थियो ।

