Skip to content

मगर संघद्वारा मगर माननीयहरुलाई सम्मान

फागुन २६, काठमाडौं । नेपाल मगर संघ, केन्द्रीय समितिले प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका मगर माननीयहरुलाई बधाई तथा सम्मान गरेकोछ । प्रतिनिधि सभामा १२ जना (५ जना प्रत्यक्षबाट र ७ जना समानुपातिक) प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभामा १ जना र प्रदेश सभामा ३१ जना (१८ जना प्रत्यक्षबाट र १३ जना समानुपातिक) गरी जम्मा ४४ जना मगर मानीनीयहरुलाई मगर संस्कार अनुसार पगडि गुथेर सम्मान गरेको छ ।

मगरात सभ्यता सहितको समृद्ध मगर समाज निर्माण गर्न आफ्नो पार्टी र अन्य समुदायसँग भावनात्मक सम्बद्ध सुमधुर बनाउदै आफ्नो समुदायको अधिकारका लागि सम्पूर्ण मगरहरु एकजुट हुनुपर्ने भन्दै नेपाल मगर संघका संस्थापक महासचिव तथा राष्ट्रिय सभा सदस्य माननीय सुरेश आलेमगरले आदिवासी जनजातिहरुको पहिचान मेटाउने गरी नदिखोलाहरुको नाममा प्रदेशहरुको नामांकरण गरिनु दुखद विषय बनेको बताए । मगर समुदायलाई यो स्वीकार्य छैन, पहिचान स्थापित हुने गरी नामाकरणमा पुनर्विचार गरिनु पर्दछ, हाम्रो आन्दोलन अझै जारी रहेको आलेमगरले बताए ।


पहिचान सहितको राज्य पुनर्संरचना हुन सकेन, पहिलो संविधान सभा विघटन हुँदा आदिवासी जनजाति तथा उत्पीडित जातिहरुले धेरै ठूलो क्षति व्यहोर्नु परेको भन्दै संघका पूर्व वरिष्ठ उपाध्यक्ष तथा लुम्बिनी प्रदेश सभाका सभामुख माननीय तुलाराम घर्तीमगर (बसन्त)ले संविधानले व्यवस्था गरेको संरक्षित क्षेत्र, भाषिक तथाा साँस्कृतिक अधिकारलाई राज्यबाट कार्यान्वयन गराउन राज्यलाई दवाव सिर्जना गर्नुपर्ने र सँगै राजनैतिक अधिकारसहित समृद्ध मगर समाज निर्माण गर्न संघले आफ्नो कार्यनीति बनाउन आग्रह गरे ।


मगर हुनुमा गर्व गर्दै आफ्नो समाजलाई कुरिती, विंसगतीहरुबाट जोगाउदै मगर जाति सहित राज्यलाई नै समृद्ध राष्ट्र बनाउन मगरहरु लाग्नु पर्ने भन्दै प्रतिनिधि सभा सदस्य माननीय कुशुम थापामगरले मगर जातिलाई अधिकार सम्पन्न जाति बनाउन आफू प्रतिबद्ध भएको र संघले उठान गर्ने न्यायिक मुद्दाहरुमा सधै आफ्नो साथ समर्थन रहने बताए ।


संयुक्त मगर मोर्चाका संस्थापक संयोजक माननीय लिला बहादुर थापामगरले मगर जातिको ऐतिहासिक महोत्वका सबैखाले विषयबस्तुहरुको अध्ययन गर्दै मगरात सभ्यतालाई मगर दर्शनकै रुपमा निर्माण गर्न संघलाई दायित्वबोध गराउदै अन्य समुदायले प्राप्त गरेका हकअधिकारहरुको सम्मान गर्दै त्यत्तिकै मगर समुदायलाई पनि अधिकार सम्पन्न बनाउन आफ्नो साथ समर्थन हुने प्रतिबद्धता जाहेर गरे ।


लुम्बिनी प्रदेशका पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य माननीय पूर्ण बहादुर घर्तीमगरले मगर जातिको अधिकार सुनिश्चित गराउन नीति निर्माण हुने ठाउँ प्रदेश सभा र प्रतिनिधि सभामा दवाव सिर्जनाका लागि कडाईका साथ समुदायका मुद्दाहरु उठान गर्न सबै माननीयहरुलाई आग्रह गरे ।


मगर जातिको अधिकार सुनिश्चितताको लागि सम्पूर्ण मगर मानीनीय एउटै टेबुलमा बसेर बृहत छलफल गर्नुपर्ने, साझा एजेण्डा तयार गरेर कार्यान्वयनका लागि दवाव सिर्जना गर्नुपर्नेमा माननीय रमा आलेमगरले जोड दिए ।
कार्यक्रममा मगर र नीतिगत सोच: हिजो, आज र भोलि भन्ने विषयमा काठमाडौं युनिभर्सिटीका प्राध्यापक डा.लालबहादुर पुनमगरले कार्यपत्र प्रस्तुत गरेका थिए । खुल्ला विश्व विद्यालयका प्राध्यापक डा.कर्ण रानामगरले भने नेपाल मगर संघले मगर प्राज्ञिक प्रतिष्ठानको बहश शुरु गरेकोछ । त्यही प्राज्ञिक प्रतिष्ठानमा रहेर हामी प्राज्ञहरुले मगर नेताहरुलाई अधिकार कार्यान्वयनका लागि निर्धक्कसँग कुरा राख्न सहयोग पुग्ने गरी दस्तावेज प्रदान गछौंं, हामी सुझाव दिन्छौं । माननीयहरुको सारथी बन्न हामी प्राज्ञहरु इच्छुक छौं तर यसका लागि माननीयहरुले पनि आफ्नो पुरातन सोच बदलेर प्राज्ञहरुसँग निरन्तर छलफल बहश गर्न सम्झाए ।


परिचयको क्रममा प्रायः सबै माननीयहरुले संघले यसरी बधाई तथा शुभकामना कार्यक्रम राखी सम्मान गरेमा अत्यन्त खुशी भएको बताए । साँस्कृतिक पक्षलाई बढी जोड दिईरहेको आभार भैरहेको भन्दै समृद्ध मगर समाज निर्माण गर्न साँस्कृतिक, आर्थिक, शैक्षिक र राजनैतिक गरी यो चारखम्बे नीति बनाई अगाडि बढ्न संघलाई सल्लाह दिदै आफुले पनि सक्दो सहयोग गर्ने संघका सल्लाहकार कृष्ण थापामगरले बताए । संघका संरक्षक बरिष्ठ अधिवक्ता गौबहादुर आलेमगरले संघले लिएको गतिशिलप्रति आफू खुशी भएको बताए ।


मगर जातिको समृद्धि बिना देश समृद्ध बन्दैन, मगर जाति राजनैतिज्ञ नहुँदासम्म देशमा सुशासन आउदैन । इमान्दार र कर्तव्यनिष्ठ मगर जातिलाई राज्यले खोजिरहेको छ । सबै मगर माननीयहरुलाई मगर हुनुमा गौरवान्ति हुँदै, मगर समुदायको शिर उचोँ राख्दै राज्यसत्ता संचालनको नेतृत्व पुग्ने गरी अगाडि बढ्नुहोस्, सिंगो मगर समुदायको साथ समर्थन हुने भन्दै संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगर सम्पूर्ण माननीयहरुलाई हार्दिक बधाई तथा शुभकामना दिए ।
संघका सहअध्यक्ष गंगाबहादुर थापामगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमलाई नेपाल मगर संघ, सम्पर्क समन्वय केन्द्रीय समिति, मगर उत्थान समाज काठमाडौं र मगर परिवार नेपाल (एमपिएन)ले सहआयोजनको रुपमा नेपाल मगर संघलाई सहयोग गरेका थिए । कार्यक्रम संचालन संघका महासचिव टेकबहादुर नामजालीमगरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *