काठमाडौं । मगर समुदायको मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सव-२०७९ सम्पन्न भएको छ । मगर मौलिक साँस्कृतिक प्रदर्शन तथा शुभकामना आदान प्रदान गरि भव्य र सभ्यका साथ महोत्सवको समापन गरिएको हो । नेपाल मगर संघ केन्द्रिय समितिको आयोजना र उसका सम्पूर्ण भातृसंगठनहरु तथा त्यसमा आद्ध संस्थाहरुको सह-आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि तथा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राईद्वारा पानसमा दीप प्रज्वलन गरि गरिएको थियो । कार्यक्रमको तालिका अनुसार प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुने रहेको भएपनि पोखरामा भएको यती एअरको विमान दुर्घटनाको कारणले उनी उपस्थित हुन सकेनन् ।

“मगरात सभ्यताको संरक्षण, संम्वर्द्धन गर्दै पुस्तान्तरण गरौँ , मगर समुदायको महान चाड माघे सकराती २०७९ भव्यताका साथ मनाऔँ । भन्ने मूल नाराका साथ मगर मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सवको पावन अवसरमा नेपाल मगर संघ केन्द्रीय समितिले गरेको कार्यक्रममा पौष २९ गते मौलिक सोरठी (पुख्र्यौर्ली), मौलिक हुर्रा, मौलिक नचारु(रात्रीको),मौलिक कौरा, मौलिक सोरठी, मौलिक सरङया,मौलिक डिग्रे, मौलिक मारुनी, मौलिक फाङ्क, मौलिक ज्यानादा बाने, पौष ३० र माघ १ गते मौलिक सोरठी (पुख्र्यौर्ली), मौलिक गुरुङच मौलिक नचारु(दिवाको),मौलिक कौरा, मौलिक मारुनी, मौलिक सरङया,मौलिक जोरा, झाक्री, मौलिक भुमे नाच, मौलिक घाटु, मौलिक जोरा, मौलिक स्याम्बो, मौलिक झ्याम्रे, चेली पुजाको प्रस्तुती रहेको थियो । उनीहरुले मौलिक संस्कृतिलाई थप प्रवर्द्धन मगर भेषभूषामा सडकमा भृकुटीमण्डपबाट झाकी र्याली निकालेका थिए ।
नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले मौलिक संस्कृतिलाई थप प्रवर्द्धन गर्न माघे सकरातीलाई राष्ट्रिय सूचीमा चिनाउने गरी विश्वभर फैलाउन महोत्सवको आयोजना गरिएको बताए । यसपटक मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक भेषभूषा, मौलिक खानपिनको प्रदर्शनी, धनुषबाँण हान्ने, छेलो खेल तथा एकआपसमा शुभकामना आदान–प्रदानसमेत गरिएको छ ।
नेपालको प्राय: सबै जिल्लाहरुमा बसोबास रहेको प्राचीन आदिवासी ‘मगर’ समुदायभित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता छन् । मौलिक संस्कृतिको रुपमा मगरहरुले माघे साकराती चाड, भूम्यापूजा, वैशाखे पूर्णिमा, साउने साकराती आदि चाडपर्व मनाउने गर्दछन् भने भाषिक रुपले मगरहरुले बाह्रमगरात (मगर ढुट), अठारमगरात (मगर खाम/पाङ) र मगर काइके भाषा बोल्ने गर्दछन् । मौलिक कला–संस्कृतिका हिसाबले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैंस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगानहरु प्रचलित छन् ।
माघे साकरातीमा दाजुभाइ दिदिबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूलपानी र धारालाई जमरा र पातीले सजाउने साथै नुहाई धुवाई गरेर चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौंको पात लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरुलाई माइती दाजुभाइहरुले पूजा गर्ने गरिन्छ । चामलको सेतो टीका र जौं पातीको फूल लगाई दक्षिणा अनि आशीर्वाद दिने चलन छ ।

