फागुन २४, काठमाडौं । नेपाल मगर संघले आयोजना गरेको दुई दिने आधारभुत पत्रकारिता तालिम बुधबार सम्पन्न भएको छ । संघका सूचना तथा संचार विभाग प्रमुख उपमहासचिव मनबहादुर पुनमगरको संयोजकत्वमा मूलघर कलंकीमा सम्पन्न तालिममा ३८ जना सहभागी थिए ।

मगरात सभ्यता सहितको समृद्ध मगर समाज निर्माणका लागि पत्रकारिताकाबाट संघका नीति तथा कार्यक्रमहरु जनतामाझ पुर्याउदै न्यायिक मागहरु कार्यान्वयनका लागि राज्यलाई दवाव सिर्जना गर्न यो कार्यक्रम महोत्वपूर्ण रहेको संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले बताए ।

बौद्धिक क्षमताको अभिबृद्धि गर्दै मगर समाज सहित समुन्नत नेपाल निर्माण गर्न राज्यको हरेक निकायमा मगर जातिको उपस्थिति अनिवार्य र अपरिहार्य भएको भन्दै संघका महासचिवले पत्रकारिताबाट देशलाई सुशासन सहितको समृद्ध राष्ट्र निर्माण गर्न मगर युवाहरुलाई दायित्वबोध गराए ।

गोरखापत्र राष्ट्रिय दैनिकका मोदनाथ ढकाल (प्रमुख प्रशिक्षक) र लक्ष्मण दर्नाल (प्रशिक्षक), नेपाली रेडियो नेटवर्कबाट अतिथि प्रशिक्षक राजकुमार रायमाझी र रे टेलिभिजनबाट अतिथि प्रशिक्षक श्याम रानामगरले प्रशिक्षण प्रदान गरेका थिए ।

आधारभुत तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई कार्यक्रम संयोजक पुनले कार्यक्रम समापन गर्दै भने, राम्रो कार्यको थालनी संघले गरेकोछ । यो शुरुवात हो, आवश्यकतानुसार एडभान्स लेभलको पत्रकारिता तालिम पनि संचालन हुन्छ । इच्छुक पत्रकारहरुलाई राष्ट्रिय पत्रिकाहरुमा जोड्ने काम पनि हुन्छ । त्यसैले निस्पक्षता साथ पत्रकारिता शुरु गर्न आव्हान गरे ।

संघका भ्रातृ संस्था, आबद्ध संस्थाहरुबाट उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई खाजानास्ताको व्यवस्था गर्नु हुने नेपाल मगर महिला संघलाई कार्यक्रम संचालक संघका उपमहासचिव खगेन्द्र पुनमगरले धन्यवाद दिए ।
